Thursday, May 28, 2020

एकैदिन १७१ मा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ११९८

१५ जेठ, काठमाडौं । नेपालमा एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ ।

स्वार्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।

बिहीबार झापामा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा कचनाकवलका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।

यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५ देखि ४५ वर्षका छन् । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखाका १९ र २० वर्षका दुई पुरुष, सोलुखुम्बुका ५५ वर्षका पुरुष, मकवानपुरका ५० वर्ष पुरुष र नवलपुरका १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २२ र २६ वर्षका पुरुष र ४९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्ष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा बिहीबार एकैदिन २३ जना र रुपन्देहीमा एकजना संक्रमित थपिएका छन् । कपिलवस्तुका २३ जनामध्ये विजयनगर गाउँपालिकाका ९ जना, कपिलवस्तु नगरपालिकाका १३ जना र महाराजगन्ज नगरपालिकाका एकजना छन् ।

कपिलवस्तुमा भारतबाट फर्किँदै गरेका अर्घाखाँचीका एकजनाको मृत्यु भएको छ । उनमा पनि कोरोना पुष्टि भएको छ ।

पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको पोखरीया नगरपालिकास्थित रामदेव साह कलवार स्कुल क्वारेन्टिनमा बसेका ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

बिहीबार साँझ म्याग्दी सदरमुका बेनीमा मालिका गाउँपालिकाका ३० वर्षीय एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म ५ जनाको कोरोनाले मृत्यु भएको छ भने १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार भारतबाट आउँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । तर, सरकारले कोरोनाकै कारण मृत्यु भएको घोषणा गरिसकेको छैन ।

Saturday, May 9, 2020

कोरोना संक्रमित ४० लाख नाघे

विश्वभर कोराना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ४० लाख २४ हजार ७३७ संक्रमित फेला परेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दुई लाख ७९ तीन सय १३ पुगेको छ ।

विश्वभर १३ लाख ७५ हजार ८५४ संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १३ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
स्पेनमा दुई लाख २३ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिँदा २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इटालीमा दुई लाख १८ हजारभन्दा धेरै संक्रमित भेटिँदा ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पनि दुई लाख १६ हजारभन्दा बढी संक्रमित भेटिँदा ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अहिलेसम्म अमेरिकामा दुई लाख १२ हजार संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख ४३ हजार, स्पेनमा एक लाख ३३ हजार र इटालीमा एक लाख तीन हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Monday, May 4, 2020

बाँकेमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।

यसअघि आइतबार बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाका अनुसार बाँकेमा हालसम्म ५ सय ९३ जनाको आरडीटी परीक्षण गरिएको छ । बाँकेमा पीसीआर विधिबाट ३ सय ५८ को जाँचका लागि स्वाब संकलन गरिएकोमा छ । सोमबारसम्म ३९ को रिपोर्ट आउन बाँकी थियो । नेपालगन्जका कोरोना संक्रमित अनपेक्षित देखिएपछि ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि टोली पुगेको छ । नेपालगन्जमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाब संकलन मंगलबारबाट शुरु हुने भएको छ ।

बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद यही वैशाख २५ गतेसम्म छ ।